Initiative of CITIZENS FOR INFECTION CONTROL (CIC), in collaboration with Nepalese Initiative for Prevention of Antimicrobial Resistance (NIPAR)

नेप्लिज इनिसिएटिभ फर प्रिभेन्सन अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्ससँगको सहकार्यमा सिटिजन्स फर इन्फेक्सन कन्ट्रोलको तत्वावधानमा

यो डाइरेक्ट्रीका सबै सामाग्रीहरु Creative Commons Attribution 4.0 International licenseअन्तर्गत प्रकाशन गरिएका छन् । यसमा सामेल सामाग्रीहरुलाई पूर्ण वा आंशिक रुपमा प्रिन्ट वा अनलाइन रुपमा वितरण गर्न चाहेमा स्पष्ट खुल्ने गरी स्रोतका रुपमा डाइरेकट्रीको नाम र वेब ठेगाना उल्लेख गरेर वितरण गर्न सकिनेछ ।

Sunday, October 19, 2014

इबोलाः मानिसको ध्वंशात्मक व्यवहारका लागि प्रकृतिले दिएको दण्ड?


अफ्रिकाबाट शुरु भएर हाल कम्तीमा तीन महादेशसम्म फैलिइसकेको इबोला रोगले संसारभर मानिसहरुलाई त्रस्त बनाएको छ ।

तर यो त्रासबाट माथि उठेर हेर्ने हो भने के देखिन्छ भने जन स्वास्थ्यका लागि यो एउटा मात्र जोखिम हैन । पछिल्ला दशकहरुमा देखा परेका विश्वव्यापी स्वास्थ्य संकटहरुमध्ये एचआइभी एड्सजस्ता रोगहरुसित बाँच्न हामीहरु अभ्यस्त भइसकेका छौं भने सार्स र स्वाइन फ्लू भनिने एचवन एनवन इन्फ्लुएन्जाजस्ता संकटहरु चर्चामा आउँदै हराउँदै गरेका छन् र बर्ड फ्लू भनिने एभियन इन्फ्लुएन्जा चाहिं लोड गरिएको तर ट्रिगर दबाउन बाँकी राइफलजस्तै बनेर हाम्रै वरिपरि घुमिरहेको छ । तीव्र रुपमा बढिरहेका उच्च रक्तचाप र मधुमेहजस्ता मोटोपनजन्य रोगहरु र क्यान्सरजस्ता नसर्ने रोगहरु मात्र नभएर एन्टिबायोटिक—प्रतिरोधी संक्रमणजस्ता सर्ने रोगहरु पनि अब जनस्वास्थ्यका सदाकालीन चुनौतीका रुपमा देखा परेका छन् ।

तर यो तथ्यले के कुरालाई नकार्दैन भने, त्यस्ता धेरै जोखिमहरुमध्ये अहिलेका लागि इबोला प्रमुख जोखिम भएर देखा परेको छ ।

इबोला र नेपाल


नेपालमा यी पंक्ति तयार पारिंदासम्म इबोला भाइरसले प्रवेश गरेको छैन । तर नेपालको स्वास्थ्य क्षेत्रको भद्रगोल हेर्दा, यदि समयमै इबोलाबाट बच्ने हो भने अहिले नै हामी सबै यो मानेर चल्नुपर्ने हुन्छ कि हामीकहाँ इबोला भित्रिइसकेको छ तर पत्ता नलागेका कारण मात्र चर्चा र समाचारमा आउन सकेको छैन । तथ्यगत रुपमा त्यसो नहुन पनि सक्छ तर रोग देखिइसकेपछि हामीले अपनाउन सक्ने उपाय यति सीमित छन् कि त्यो अवस्थामा तिनको प्रभावकारिता ज्यादै न्यून हुने देखिन्छ ।

अमेरिकाजस्तो ज्यादै व्यवस्थित र स्तरीय स्वास्थ्य सेवा भएको देशमा त अफ्रिकाबाट भित्रिएको इबोला फैलिन नदिने प्रयासहरु असफल भए भने नेपालमा इबोला देखिनासाथ हाम्रो स्वास्थ्य सेवा तत्काल संकटकालमा पुग्ने देखिन्छ । त्यो किन भने हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा त थामिनसक्नु भीड छ नै, निजी स्वास्थ्य संस्थाहरुमा समेत भीड पातलो छैन । इबोला भएको तर पत्ता नलागेको एक व्यक्ति त्यस्तो भीडमा हुनु र बाँकी मानिसहरुले सावधानी नअपनाउने हो भने एकाध घण्टामै भाइरसले दर्जनौं मानिसलाई संक्रमित गर्ने र त्यसको एकाध दिनमा रोग पत्ता लाग्नु अगावै अरु बाह्र दर्जन मानिसहरु संक्रमित हुने र तत्काल महामारी नियन्त्रणबाहिर जाने सम्भावना हुन्छ ।

अर्कोतिर, मानिसलाई अस्पतालमा भीड नगर भन्नु वा भीडबाट इबोला सर्ला भनेर मानिस अस्पताल आउन हिच्किचाउनु भनेको उनीहरुलाई साविकका अन्य रोग पालेर बस भन्नु हो । त्यसो हुनुको अर्थतन्त्रीय र स्वास्थ्यजन्य मूल्य चुकाउनुपर्ने कुरा त छँदैछ ।

त्यस्तै भीड हाम्रो दैनिक जीवनको कस्तो अविभाज्य पाटो हो भने, मानिसहरुलाई भीडभाडमा यात्रा नगर भन्नु भनेको यात्रा नै नगर भन्नु हो किनकि हाम्रा यातायात व्यावसायीको कृपाले भीडभाड नभएका साधन पाउनु असम्भवप्राय छ ।

अब नेपालको स्वास्थ्य क्षेत्रमा यत्रो चुनौती आउँदैछ भन्ने भएपछि त्यसबारे व्यापक तयारी गरेर आवश्यक मार्ग निर्देशन गर्नुपर्ने तथा इबोला नियन्त्रणको नेतृत्व गर्नु पर्ने स्वास्थ्य मन्त्री व्यक्तिगत र पार्टीगत लाभका लागि षड्यन्त्रका तानाबाना बुन्न र भएकै स्वास्थ्य संस्थाहरुलाई अस्तव्यस्त बनाउन मरिमेट्दै छन् । राज्य यसै पनि संविधान निर्माणको किचलोमा यसरी अल्झेको छ कि उसको हैसियत आफ्नै कार्यालय अघि अपराध भएर अपराधी भागिसकेपछि पुग्ने प्रहरीको जस्तो हुन आएको छ ।

यो अवस्थामा यो रोगबाट बच्नका लागि स्वास्थ्यकर्मी समुदाय र आम समुदायले आ—आफ्नो क्षेत्रबाट सक्रिय भुमिका खेल्नु जरुरी छ । यो डाइरेक्ट्रीमा यी दुई पक्षका लागि महत्वपूर्ण हुने जानकारीहरु समावेश गरिएको छ । विभिन्न सीमितताहरुका कारण भाइरसको प्रकृति र रोगको बिस्तृत चर्चा यहाँ गरिएको छैन । त्यसका लागि खास गरी अंग्रेजी पढ्न सक्ने मानिसहरुका लागि असीमित अनलाइन सन्दर्भ सामाग्रीहरु उपलब्ध छन्, जुनमध्ये केहीको वेव ठेगाना यो डाइरेक्ट्रीमा संलग्न गरिएको छ । यसमा चाहिं खाली पुष्टि भएर वा नभएर हामीकहाँ इबोला आइपुगेको खण्डमा त्यसबाट आफू पीडित हुने तथा आफू वरपरका मानिसहरुलाई फैलाउने अवस्था आउनबाट रोक्न के के गर्न सकिन्छ भन्ने बारेमा व्यवहारिक सल्लाह दिइनेछ ।

यस डाइरेक्ट्रीमा सहजता र व्यवहारिकताका आधारमा इबोलाबाट बच्न अपनाउनुपर्ने उपायहरुलाई निम्नानुसार तहीकृत गरिएको छः

  •  तह १. आफू रहेको भुगोलमा इबोला भएको पुष्टि भएको छैन तर इबोला छैन नै भनेर ढुक्क हुन सक्ने स्थिति पनि छैन ।
  • तह २. नेपालमा इबोला भएको पुष्टि भइसक्यो तर त्यसबाहेक परिवार वा समुदायमा इबोला पुष्टि भएका बिरामी छैनन् ।
  • तह ३. परिवार वा नजिकको छिमेकमा इबोला पुष्टि भएका बिरामी छन् वा समुदायको कुनै व्यक्ति इबोलाका कारण मरेपछि तिनको अन्तिम क्रियामा आफू संलग्न भइसकिएको छ ।
तदनुरुप फरक फरक स्तरका उपायहरु अपनाएर हरेक अवस्थामा प्रभावकारी रुपमा रोगको फैलावट रोक्न सम्भव हुन्छ ।

इबोलाः सजगता आवश्यक, प्यानिक वा हताशी घातक, किन?


सजगताले बाटो देखाउँछ भने हताशी र अन्योलले बाटो छेक्छ । ठूलो चुनौतीका बीच हाम्रो राज्य, हाम्रा अस्पताल र स्वास्थ्य संस्थाहरु, स्वास्थ्यकर्मीहरु र समग्र समाजले कति कुशलताका साथ तिनलाई सामना गर्छन् भन्ने यस्ता मौकाहरुमा नै थाहा हुन्छ ।

त्यसैले इबोला नियन्त्रणको आधारभुत नियम होः सजग बन, हताश नहोऊ, अर्थात् Exercise caution but do not panic.

लाइबेरिया, गिनी र सिएरालियोनमा इबोलाले समग्र राज्यलाई नै अस्तव्यस्त पारिसकेको कुरा सत्य हो तर अफ्रिकामै पनि रोग देखिएका सबै देशहरुको अवस्था त्यहाँभन्दा ज्यादै फरक छ ।

पछिल्लो आँकडाअनुसार, हालसम्म बीस इबोला पुष्टि भएका बिरामी र आठ मृत्यू भोगिसकेको नाइजेरियामा ५ सेप्टेम्बरदेखि र एउटा बिरामी देखा परेको सेनेगलमा २९ अगस्टदेखि नयाँ बिरामी फेला परेका छैनन् र दुवै देशमा बिरामीको सम्पर्कमा आएका कारण निगरानीमा राखिएका सबै मानिसहरुलेहरु (नाइजेरियामा ८९१ जना) ले २१ दिनको फलो–अप पूरा गरिसकेका छन् ।

त्यस्तै अफ्रिकाबाट इबोला लागेर अमेरिका पुगेका एक जनाको मृत्यू भए पनि अमेरिकामै उनीबाट संक्रमित भएका दुई नर्सहरुको अहिले उपचार चलिरहेको छ ।

त्यस्तै विगतको अनुभवले के पनि देखाउँछ भने, अफ्रिकामा पटक पटकका महामारीहरुमा मर्ने स्वास्थ्यकर्मीहरुको संख्या कुल मृत्यूको २५ प्रतिशतसम्म भए पनि तीमध्ये सबैजसो युनिभर्सल प्रिकसन व्यवहारमा नउतार्दा भएको देखिन्छ भने १९९५ को कंगोको महामारीमा संक्रमित हुने एक नर्सले सबै उपाय अपनाए पनि झुक्किएर ग्लोभ्स सहितका हातले आँखा मिचेको कुरा खुलेको थियो ।

निष्कर्षः इबोलाका लागि उचित सावधानी नअपनाउनु घातक हुन सक्छ तर सावधानीसाथ काम गर्ने हो भने आफ्नो जिम्मेवारीबाटै तर्सनुपर्ने अवस्थाचाहिं स्वास्थ्यकर्मीहरुका लागि छैन ।

विषय सुची



भुमिकाः
इबोला कसरी सर्छ र कसरी सर्दैन?

इबोलाको मृत्यूदर

गाइडलाइनहरु
१) चिकित्सक र स्वास्थ्यकर्मीका लागि गाइडलाइन
२) अस्पताल प्रशासन र व्यवस्थापनका लागि गाइडलाइन
३) सामान्य दैनिक जीवनका लागि गाइडलाइन
४) शिक्षण संस्थाहरु का लागि गाइडलाइन
५) पसल र अन्य व्यवसायीहरुका लागि गाइडलाइन
६) सुरक्षा गार्ड, प्रहरी र ट्राफिक प्रहरीका लागि गाइडलाइन

इबोला कसरी सर्छ र कसरी सर्दैन?


सर्ने सम्भाव्य तरिकाहरुः

१) बिरामीको शरीरबाट आउने तरल पदार्थहरु तथा छाला–छालाबीच हुने सम्पर्कबाट
   क) थुकः जुठो खाँदा, चुम्बन गर्दा, बिरामीको स्याहार गर्दा
   ख) छालाको सम्पर्कबाटः

  1.  हात मिलाउँदा, आलिंगन गर्दा, साझा लुगा, ओछ्यान, टावेल आदि प्रयोग गर्दा
  2. बिरामीले छोएको सतह –जस्तै भित्तो, अन्य पर्खाल, बस्ने ठाउँ, बेड, आदि खाली हातले छुँदा
  3. यात्राको बेला बिरामीले छोएको सीटको सतह, डण्डी, ढोका, आदि खाली हातले छुँदा
  4. साझा साधनहरु –जस्तै कुचो, ब्रश र दैनिक जीवनका अरु सामाग्री खाली हातले समातेर प्रयोग गर्दा
  5. पैसाको नोट समात्दा, बिरामीले प्रयोग गरेको एटीएम मेशिन आदि चलाउँदा
  6. खास पेशामा मानिसहरुको शरीर खानतलासी लिने आदि काम गर्दा

 ग)  स्वासप्रश्वास र खोकीको बेला निस्किने मिहीन थोपाहरु (जनावरहरुमा सर्ने प्रमाणित भइसकेको तर मानिसमा यसरी सर्छ नै भन्ने प्रमाण नभेटिएको)

  1. राम्रो भेन्टिलेशन नभएको कोठामा बिरामीसँगै बस्दा
  2. साँगुरो सवारी साधनमा कोचिएर यात्रा गर्दा
  3. अस्पताल, बैंक वा अन्य ठाउँमा भीडमा उभिएर वा बसेर पालो कुर्दा
  4. विना मास्क बिरामीको सेवा गर्दा वा बिरामीलाई भेट्न जाँदा
  5. ट्राफिक प्रहरीले आफ्नो नाकले सुँघेर मादक पदार्थ सेवनको जाँच गर्दा

  घ) वीर्य
           संक्रमण भएको साढ़े तीन महिनासम्म वीर्यमा भाइरस देखिइरहन सक्ने भएकाले खास गरी रोग निको हुनेहरुमा रोग निको भइसकेपछिका लागि रोग सर्ने यो तरिकाबारे ध्यान दिनु जरुरी छ ।
    ङ)  आँशु

  1. रोगीसित साझा रुमाल आँखा पुछ्न प्रयोग गरेमा

     च)  मृत शरीरबाट

  1. इबोलाको कारण कसैको मृत्यू भएपछि पञ्जा नलगाई लाशका कपडा खोल्ने, लाश चलाउने, आदि गरेमा
  2. मृतकले प्रयोग गरेका बिछ्यौना, लुगाफाटा र अन्य सामानहरु सुरक्षित रुपमा व्यवस्थापन नगरेमा
  3. त्यस्तो मृतकको पोष्ट मार्टम गर्नु परेको खण्डमा उचित सावधानी नअपनाई शरीरको कुनै तरल पदार्थ छालाको सम्पर्कमा आएमा

      छ)   स्वास्थ्यकर्मीहरुका लागि

  1. स्वास्थ्यकर्मीले बिरामी जाँच्दा वा बिरामीमा अन्य कुनै प्रोसिजर गर्दा युनिभर्सल प्रिकसन नअपनाएमा
  2. निडल प्रिक एक्सिडेन्ट भएको अवस्थामा


       ज) अन्यः
         संक्रमित चमेरो, सुँगुर, आदि प्राणीसित सम्पर्क भएमा


इबोला नसर्ने अवस्थाहरु

       यथेष्ट अध्ययनको अभावमा अरु रोगहरु झैं यसो गर्दा इबोला सर्दै सर्दैन भनेर तोकिएको अवस्था अहिले छैन, जुन विवरण भविष्यमा चाहिं आउने सम्भावना छ । त्यसको एउटा अपवाद लामखुट्टेको टोकाइ हो जसबाट इबोला सर्दैन भनिएको छ । 

इबोलाको मृत्यूदर


अन्यथा असाध्य चिन्ताजनक रहेको इबोलाको अहिलेको महामारीमा एउटै चाँदीको घेरा के भने विगतका  इबोला महामारीहरुभन्दा अफ्रिकामै पनि यसको मृत्युदर यसपालि कम छ । विगतका कुनै महामारीहरुमा ९० प्रतिशतसम्म पुग्ने गरेको मृत्यूदर यसपालि अफ्रिकाका लागि पनि पछिल्लो तथ्यांकअनुसार त्यो भन्दा निकै कम छ । महामारी अझै नियन्त्रणबाहिर रहेका गिनी, सिएरालियोन र लाइबेरियाका लागि मृत्युदर करीब ५० प्रतिशत (९१९१ जम्मा बिरामी हुँदा मृत्यूको संख्या ४५४६ ) छ भने महामारी नियन्त्रणमै रहेका तथा नियन्त्रणमा आइसकेका नाइजेरिया, सेनेगल, स्पेन र संयुक्त राज्य अमेरिकाका लागि प्रारम्भिक मृत्युदर ३६ प्रतिशत (२५ बिरामी, ९ मृत्यू) रहेको छ ।

प्रभावकारी भाइरस प्रतिरोधी औषधि नभएका कारण अमेरिकामा एउटा परीक्षण कालको औषधि सीमित बिरामीहरुलाई दिइएबाहेक अहिले यसको उपचार पूर्णतः रोगका लक्षण र जटिलताको उपचार गर्नुमा सीमित छ, जुन आफैंमा ज्यादै चुनौतीपूर्ण काम हो ।

त्यसबाहेक अफ्रिकाको अहिलेको मृत्युदर भाइरसको घातक क्षमताको मात्र नभएर त्यहाँ व्याप्त अव्यवस्था र अराजकताको परिणाम पनि हो । मागभन्दा धेरै कम स्वास्थ्य जनशक्ति हुनु, दक्ष जनशक्तिको उल्लेख्य हिस्सा विदेशी स्वयंसेवक हुनु र उनीहरुमध्ये धेरैले महामारीसँगै कार्यस्थल छाड्नु, महामारीको बीचमै सिएरा लियोनका नेतृत्वदायी चिकित्सक तथा शोधकर्ता शेख उम्मार खानको मृत्यू हुनुले त्यहाँ इबोला रोगीहरुको उपचारमा गम्भीर व्यवधान उत्पन्न गरेका छन् । त्यसबाहेक इबोला रोग नै हैन भन्ने अन्धविश्वास, यो गोराहरुले अफ्रिकालाई तहसनहस पार्न आविष्कार गरेको भाइरस हो भन्ने हल्लाका कारण उत्पन्न अन्योलले पनि खास गरी शुरुको चरणमा रोग नियन्त्रणमा बाधा पुर्याएको थियो । त्यसमाथि इबोला बिरामीले खचाखच क्वारेन्टाइन भवनलाई दंगाकर्ताहरुले तोडेर बिरामी भगाउने, बिरामीमध्ये कति आफैं अटेर गरेर घर जाने र बजार घुम्ने आदि गर्दा पनि त्यहाँ इबोला तीव्र रुपमा समुदायमा फैलिन पाएको हो ।

त्यसबाहेक इबोलाको जोखिमबारे कुरा गर्दा भुल्न नहुने कुरा के छ भने, फरक फरक व्यक्तिहरुमा उही भाइरसले संक्रमित गर्दा किन कसैमा यो गम्भीर भएर हप्ताभरमै मृत्यू हुन्छ र अरुहरुमा चाहिं सामान्य लक्षणहरु मात्र देखिएर ठिक भएर जान्छ, त्यो रहस्य अहिलेसम्म खुल्न सकेको छैन । इबोलाकै बारेमा अध्ययन पनि गर्दै र उपचारको नेतृत्व पनि गर्दै गरेका सिएरालियोनका डा शेख उमार खानले सक्रियतापूर्वक सबै सावधानी अपनाएर उपचारमा संलग्न हुँदा समेत उनी संक्रमित हुनु र साताभरमै उनको मृत्यू हुनुले यो रोगको बारेमा जान्न बाँकी अरु धेरै कुरा छन् भन्ने जनाउँछ ।

अमेरिका र युरोपमा महामारी प्रारम्भिक चरणमै रहेकाले त्यहाँको मृत्युदरको सार्थक तथ्यांक अझ आउने बेला भइसकेको छैन । तर नेपालमा रोग भित्रिइहालेको खण्डमा अफ्रिकाको अनुभव हेरेर मृत्यूदरलाई पचास प्रतिशतको वरिपरि राख्ने अपेक्षा गर्न सकिन्छ । मृत्युदर अझ कम गर्न तथा इबोला आइसकेपछिको अवस्थामा आउन सक्ने अस्तव्यस्तताको अवस्थामा पचास प्रतिशत कायम राख्न पनि नेपालका स्वास्थ्य संस्थाहरुको क्षमता तत्काल वृद्धि गर्नुपर्ने हुन्छ । रोग फैलिनबाट रोक्ने प्रयासहरुसँगै रोगीहरुलाई उत्कृष्ट उपचार दिएर मृत्यूदर कम गर्ने प्रयास पनि सँगसँगै गर्नुपर्ने हुन्छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु का लागि गाइडलाइन



तह १)

क) ओपीडी, वार्ड र क्लिनिकको भीड कम गर्ने

  1.  पालो पर्खिने बिरामीहरुलाई सम्झाएर बन्द कोठा वा गल्लीको सट्टा बाहिरपट्टि खुला ठाउँमा पर्खन लगाउने
  2. वार्डमा एक वा दुईभन्दा बढी बिरामी कुरुवाहरुलाई निषेध गर्ने,

ख) पञ्जा र मास्कको प्रयोग

  1.  एक एक बट्टा डिस्पोजेबल फेस मास्क र नन्स्टेराइल एक्जामिनेसन ग्लोभ्स् झोलामा बोकेर हिंड्ने ।
  2.  आवश्यकता अनुसार बिरामी नाजाँच्दा पनि मास्क र एकोहोरो पञ्जा लगाउने । 
  3. बिरामी जाँच्दा दोहोरो पञ्जा (एकभित्र अर्को जोडी) लगाएर जाँच्ने । 
  4. हरेक बिरामीपछि बाहिरी पञ्जा फेर्न सम्भव भएन भने पञ्जामाथिबाटै साबुन वा डिटोल पानीले हात धुने वा एन्टिसेप्टिक सोलुसन लगाउने ।

ग) युनिभर्सल प्रिकसनलाई कड़ाई पूर्वक व्यवहारमा उतार्ने
            युनिभर्सल प्रिकसनका व्यवहारमा नउतार्ने गरिएका पाटाहरु फेस मास्क, गोगल्स, गाउन, स्कल क्याप  आदि अनिवार्यतापूर्वक प्रयोग गर्ने

तह २)

क) बिरामीको आइसोलेसन र बिरामीका आफन्त तथा अन्य शंकास्पद बिरामीहरुको क्वारेन्टाइन प्रभावकारी बनाउने

ख) इबोला पुष्टि भएको बिरामीको प्रत्यक्ष उपचार र सेवामा खटिएका सबै स्वास्थ्यकर्मीहरुले परिवार र समुदायका सदस्यहरुसित न्यूनतम सम्भव भौतिक सम्पर्क राख्ने

ग) आफूहरुमध्ये नै इबोलासित मिल्दोजुल्दो लक्षण हुने रुघाखोकी, आदि रोगहरु लागेमा वा इबोलासित मिल्दाजुल्दा लक्षणहरु देखिएमा तुरुन्त इबोला छ वा छैन भन्ने जाँच गरेर त्यसै अनुसार उपचार गर्ने

घ) स्वास्थ्यकर्मीमा इबोला भएको पुष्टि भएमा तुरुन्त राम्रो भेन्टिलेशन भएको कोठामा एक्लै राखेर स्तरीय उपचार गर्ने व्यवस्था गर्ने ।

तह ३)

क) अस्पतालमा इबोलाका कारण कसैको मृत्यू भएको खण्डमा भागदौडको स्थिति आउन नदिई पूर्ण सावधानीका साथ लाशलाई बाहिर निकाल्ने र आफन्तहरुलाई संक्रमण रोक्ने उपायबारे पूरा जानकारी दिएर पठाउने व्यवस्था गर्ने ।

ख) इबोलाको बिरामीले प्रयोग गरेको अस्पतालको बेड र कोठा पूर्णतः निर्मलीकरण गरेर मात्र पुनः प्रयोगमा ल्याउने व्यवस्था गर्ने ।

अस्पताल प्रशासन र व्यवस्थापन तथा ब्लड बैंकहरुका लागि गाइडलाइन


तह १)
क) अस्पतालका विभिन्न विभागहरुबीच संयोजन र समन्वय गर्ने गरी इबोला संक्रमणको प्रतिरोधका लागि एउटा समिति वा संयन्त्र बनाइ विशेषज्ञ चिकित्सकदेखि वार्ड एटेन्डेन्ट र स्वीपरहरुका लागि लिखित गाइडलाइन तयार पारेर सुचना पाटीहरुमा टाँस्ने तथा विभिन्न विभागहरुमा पठाउने ।

ख) सर्जिकल ग्लोभ्स्, नन्स्टेराइल एक्जामिनेशन ग्लोभ्स्, फेस मास्क, गोगल्स, निर्मलीकरणका लागि आवश्यक रासायनिक झोलहरु, एन्टिसेप्टिक ह्याण्डवाश, आदि सबै साविकभन्दा धेरै खरीद गरेर स्टक गरिराख्ने र गाइडलाइनमा तिनको अनिवार्य प्रयोगबारे बुँदा राख्ने ।

ग) जन चेतनाका पर्चा पम्फ्लेटजस्ता सामाग्रीहरु यथेष्ट छपाएर सुचना पाटी र भित्ताहरुमा टाँस्ने तथा बिरामीलाई दिने व्यवस्था गर्ने ।

घ) गाइडलाइन कार्यान्वयन भए नभएको अनुगमन गर्न तथा सुचना आदान प्रदान र प्रभावकारी कार्यान्वयनका लागि अस्पतालका हरेक विभागमा स्रोत व्यक्ति तोक्ने ।

तह २)
क) शंकास्पद इबोला बिरामीहरुलाई राख्न अलग्गै इमरजेन्सी प्रांगण स्थापना गरेर बाँकी इमर्जेन्सी बिरामीहरुसित मिसिन नदिने व्यवस्था गर्ने

ख) अस्पतालमा कायम अरु सेवाको कटौती गरेर भए पनि यथेष्ट आइसोलेसन वार्डको व्यवस्था गर्ने

ग) आवश्यकताअनुसार बिरामी कुरुवाहरुका लागि पनि फेस मास्क र पञ्जा अनिवार्य गर्ने

घ) रक्त संकलन केन्द्रहरु र ब्लड बैंकसित समन्वय गरेर इबोलाको उपचारमा ठूलो मात्रामा आवश्यक पर्न सक्ने रगत र प्लेटलेट कन्सन्ट्रेट जस्ता वस्तुहरुको आपुर्ति सुनिश्चित गर्ने ।

ङ) ब्लड बैंकहरुले विभिन्न निकायहरुसित समन्वय गरेर अधिकतम रगत संकलन गर्ने तथा आवश्यक परे मेशिन थपेर भए पनि ब्लड कम्पोनेन्टहरु उत्पादन गरेर आपुर्ति गर्ने ।

आम मानिसको दैनिक जीवनका लागि गाइडलाइन


तह १)

  • भीडबाट बच्ने
    •  अति आवश्यक नभएसम्म भीडभाडमा नजाने, अति नै जरुरी नभएसम्म जन्मदिन र चाडबाडका भेटघाटजस्ता जमघटहरुको आयोजना नै कम गर्ने
    •  अस्पताल जानु परे पालो आएर नाम नबोलाइँदासम्म बाहिरको खुल्ला ठाउँमा पर्खेर बस्ने, सकभर मास्क र पञ्जा लगाएर बस्ने ।
    • हरेक किसिमको लाममा पर्खन बस्दा ठेलमठेल नगर्ने, यताउति अनावश्यक रुपमा नछुने
  • छालाको संपर्कबाट हुने संक्रमण रोक्ने
    • घरमा रहँदा पटक पटक साबुन पानीले हात धुने
    • यात्रामा साबुन वा एन्टिसेप्टिक ह्याण्डवाश बोकेर हिंड्ने र जतिपटक अवसर मिल्छ, त्यतिपटक हात धुने
    • हात मिलाउने चलन बन्द गरेर त्यसको विकल्पमा नमस्ते, आदि अरु अभिवादनका तरिका अपनाउने
    • अनावश्यक रुपमा कतै कुनै सतह नछुने, नचलाउने । असावधानीवश छोइएमा तुरुन्त साबुन पानीले हात धुने । नछोई नहुने अवस्था छ भने पञ्जा लगाएर छुने ।
    • छालामा ससाना काटेका वा कोतरिएका दाग छन् भने विशेष ध्यान दिंदै तिनलाई खाली रहन नदिने
  • यात्राको सावधानी
    • यात्रा गर्दा सानो र ठेलमठेल मानिसहरु भएको साधनमा यात्रा नगर्ने । विकल्पको रुपमा निजी सवारी साधन प्रयोग गर्ने वा सानो दुरीका लागि पैदल यात्रा गर्ने ।
    • बसजस्तो ठूलो साधनमा झ्यालहरु खोलेर बस्ने ।
    • मास्क (सकभर डिसेजेबल अर्थात् लगाएर फल्न मिल्ने कागजको मास्क) र सम्भव भए कुनै खालको पञ्जा लगाएर बस्ने ।
    • सकभर बसको सीट, डण्डी, आदि सतहमा नछुने । हरेकपल्ट साधनबाट उत्रेपछि साबुन पानी वा डिटोल पानीले हात धुने ।
  • पैसाबाट हुने संक्रमणबाट सावधानी
    • एकैदिन धेरै मानिसको हातबाट गुज्रिने हुनाले पैसा वा मुद्राका नोटहरुसित विशेष सावधान रहने



तह २)

  1. यात्रा गर्दा वा घरमा रहँदा, डिस्पोजेबल मास्क र रबरको नन्स्टेराइल पञ्जाको बट्टा आफूसित राखिराख्ने र अवस्था हेरीकन समयमै तिनीहरुको प्रयोग गरिहाल्ने
  2. यात्रा गर्नुपर्यो भने यात्राको जरुरीपन र रोगको जोखिम तौलेर मात्र निर्णय लिने
  3. छोटो दुरीमा निजी सवारी साधन वा रिक्सा र ट्याक्सीजस्ता एक्लै चढ्ने सवारी साधन प्रयोग गर्ने वा पैदल हिंड्ने
  4. लामो दुरी यात्रा गर्दा मास्क र पञ्जा लगाएर झ्यालढोका खुल्लै राख्न मिल्ने ठूला बसहरुमा यात्रा गर्ने र यात्राको अन्तमा साबुन पानीले हात धुने
  5. एटीएम मेशीनजस्ता सामुहिक प्रयोगमा आउने साधनहरु पञ्जा लगाएर मात्र प्रयोग गर्ने र काम सकिएपछि पञ्जा बदल्ने
  6. पैसाको लेनदेन केही समयका लागि न्यूनतम वा बन्द गर्ने
    1.  नजिकका पसलहरुमा या त सिंगो नोट तिर्न पुग्ने गरी सामान लिएर पैसा फिर्ता नआउने गरी तिर्ने वा खुल्ला पैसा फिर्ता नलिई पछिलाई राख्ने वा त्यस्तै तरिका अपनाउने
    2. टाढाको नगरे पनि काम चल्ने किनमेल बन्द गर्ने, नगरी नहुने किनमेलका लागि खुल्ला पैसा फिर्ता नआउने गरी किन्ने
    3. खुल्ला पैसाको कारोबार नगरी नहुने गाडी भाडा तिर्नेजस्ता कामका लागि अलग्गै मुख बन्द गरिएको पोलिथिनमा खुल्ला पैसा राख्ने र पञ्जा लगाएको हातले दिने
  7. बच्चाहरुको यात्रा न्यूनतम गर्ने, उनीहरुलाई यी सबै उपाय अपनाउन सिकाउने, खास गरी अरु मानिसले छोएको हुन सक्ने भित्तो वा अन्य सतह छुन निषेध गर्ने तथा पटक पटक हात धुन सम्झाउने
  8. अनिवार्य नभएको अवस्थामा अस्पताल नजाने, अन्य रोग लागेर आफ्नो मानिस अस्पतालमा छ भने पर्यटकका रुपमा आउने आफन्तहरुलाई निषेध गर्ने, आइहालेको खण्डमा अस्पताल बाहिर टाढैबाट भेटेर फर्काइदिने
  9. अस्पतालमा रहँदा अरु बेलाभन्दा तीन गुना सावधानीसहित माथि भनिएका सबै उपायहरु अपनाउने 



तह ३)

  1.   छिमेकमा इबोला बिरामी भएको खण्डमा पूर्ण सावधानीका साथ रोकथामका उपायहरु अपनाएर मात्र भेट्न जाने
  2.   इबोलाका कारण कसैको मृत्यु भएमा दोहोरो पञ्चा, मास्क, चौडा सीसा भएको चस्मा, उपलब्ध भएमा विशेष गाउन लगाएर मात्र लासलाई छुने, चलाउने र बोक्ने काम गर्ने
  3.   घरमा इबोलाको बिरामी भएमा तुरुन्त अस्पताल लगेर पूरा सावधानी र चिकित्सकको निर्देशन बमोजिम सेवा गर्ने
  4.    बिरामीलाई घरमा राख्नुपरेको खण्डमा राम्रो भेन्टिलेशन भएको कोठामा राखेर माथि भनिएका सबै उपाय अपनाउँदै सावधानीसाथ सेवा गर्ने
  5.    घरका सदस्य, नातेदार तथा छिमेकीहरु बिरामीलाई आवश्यक परे जति मिल्दो समुहको रगत दिन तयार भएर बस्ने

शिक्षण संस्थाहरुका लागि गाइडलाइन



तह १)

  1.    इबोलाबारे शिक्षकहरुले यथेष्ट जानकारी लिई विद्यार्थीहरुलाई प्राथमिकतासाथ ती जानकारी दिने
  2.    दैनिक जीवनमा पनि हात धुनेजस्ता आधारभुत सरसफाइका तरिकाहरुको महत्व बुझाइ तिनलाई व्यवहारमा ल्याउन सिकाउने

तह २) 

  1.    पुष्टि भएको इबोला बिरामी देखिएको ठाउँबाट विद्यालयको भौगोलिक निकटता हेरेर सीमित अवधिका लागि विद्यालय बन्द गर्नेसम्मका निर्णयहरु गरेर कार्यान्वयनमा ल्याउने
  2.    विद्यार्थीहरुलाई इबोलाका सम्भावित लक्षणहरु पहिचान गर्न सिकाउने तथा द्रुत उपचारको महत्व बुझाउने 

पसले र अन्य व्यवसायीहरुका लागि गाइडलाइन



तह १) 

  1.    गाइडलाइन ३ मा आम मानिसका लागि सुझाइएका सबै उपायहरुर खास गरी नोट र मुद्राको प्रयोगसम्बन्धी उपायहरु कडाइका साथ अपनाउने
  2.    पसल वा बिक्रीस्थलमा बस्ने पसल साहुदेखि कामदार र भरियासम्म सबैले विभिन्न तहका उपायहरु अपनाउने
  3.    इबोला रोकथामसम्बन्धी पर्चा पम्फ्लेटहरु सबैले देख्ने गरी टाँस्ने र पढ्न नसक्नेहरुलाई बोलेर बुझाउने

तह २)

  1. पुष्टि भएको इबोला बिरामी देखिएको ठाउँबाट पसल वा व्यवसाय स्थलको भौगोलिक निकटता तथा बिक्री वितरण हुने सामानहरुको दैनिक जीवनमा अनिवार्यता हेरेर सीमित अवधिका लागि व्यवसाय बन्द गर्नेसम्मका निर्णयहरु गरेर कार्यान्वयनमा ल्याउने
  2.    आम मानिसको सम्पर्कमा आउने गरी व्यवसायमा बस्ने व्यक्तिहरु सीमित बनाउने, बच्चाहरुलाई पसलमा बस्नबाट रोक्ने, जो पसलमा बस्छ उसले मास्क र पञ्जालगायतका रोकथामका विधिहरु अनिवार्यतापूर्वक प्रयोग गर्ने
  3.    महामारीको बेला चाहिने मास्क, पञ्जा, साबुन, एन्टिसेप्टिक सलुसन, चस्मा, आदि सामाग्रीहरु यथेष्ट मात्रामा राखेर बिक्री वितरण गर्ने


सुरक्षा गार्ड, प्रहरी र ट्राफिक प्रहरीका लागि गाइडलाइन



तह १) 

  1.    नीति निर्माणको तहबाट निर्णय गराएर मापसे जाँच्ने अमानवीय सास सुँघ्ने विधि तुरुन्त प्रयोगबाट हटाउने
  2. ड्युटीमा रहँदा अनिवार्य मास्क र पञ्जा लगाउनेजस्ता उपायहरु अपनाइरहने
  3.   शरीरको खान तलासी लिनु पर्ने सुरक्षा गार्ड र प्रहरीहरुले पूरा सावधानीपूर्वक त्यसो गर्ने

तह २)

  1.    आफूले रोकथामका सबै उपायहरु अपनाएर आफ्नो कार्यस्थलमा र त्यसको वरपर अनावश्यक भीडभाड हुन नदिने
  2.    भीड व्यवस्थापनको जिम्मा लिएका बेला रोगको जोखिम बताएर मानिसहरुलाई भीड नगर्न सम्झाउने, पालो पर्खनुपर्ने अवस्थामा कोठा बाहिर सकभर खूला ठाउँमा उभिएर वा बसेर पर्खन लगाउने
  3.    अस्पतालका सुरक्षा गार्डहरुले अन्य कर्मचारीसित समन्वय गरी आपत्कालीन अवस्थामा समेत रोकथामका उपाय नअपनाई बिरामी वा तिनका कुरुवाहरुलाई नछुने
  4.    बैंकका सुरक्षा गार्डहरुले एटीएम मेशिनका बटनहरुलाई हरेक प्रयोगपछि स्पिरीट स्वाब वा अरु कुनै एन्टिसेप्टिक झोलले पुछ्ने व्यवस्था गर्ने । 

Mandatory Notice to be read before using this directory


१) यो डाइरेक्ट्री जन हितका लागि जारी गरिएको हो तर यसमा उपलब्ध जानकारी सम्बन्धित निकायहरुले पनि नीति निर्माण, योजना र जन चेतना फैलावटका लागि प्रयोग गर्न सक्नेछन् ।

२) यो डाइरेक्ट्रीमा उपलब्ध जानकारीहरु विशेषज्ञ चिकित्सकद्वारा यस क्षेत्रमा उपलब्ध पछिल्लो वैज्ञानिक सुचना र जानकारीमा आधारित भएर तयार पारिएका हुन् । त्यति हुँदाहुँदै पनि यो क्षेत्रमा नयाँ शोध र अध्ययनहरु तीव्र भइरहँदा यसमा भएका केही जानकारीहरु तथा तथ्यांकहरु तथ्यगत रुपमा पुरानो हुने वा गलत हुन जाने सम्भावना भएकाले खास गरी पछिल्लो सुचना र तथ्यांकका लागि अन्य वैज्ञानिक प्रकाशन तथा आम सञ्चार माध्यमका सामयिक सामाग्रीहरु पढ्न सिफारिश गरिन्छ ।

३) यो डाइरेक्ट्रीका सबै सामाग्रीहरु क्रिएटिभ कमन्स लाइसेन्स ( Creative Commons Attribution 4.0 International license)अन्तर्गत प्रकाशन गरिएका छन् । यसमा सामेल सामाग्रीहरुलाई पूर्ण वा आंशिक रुपमा प्रिन्ट वा अनलाइन रुपमा वितरण गर्न चाहेमा स्पष्ट खुल्ने गरी स्रोतका रुपमा डाइरेकट्रीको नाम र वेब ठेगाना उल्लेख गरेर वितरण गर्न सकिनेछ ।

४) इबोलाको जोखिमलाई तहीकरण गरेर त्यसबाट बच्ने उपायहरु उल्लेख गरिएकाले तिनलाई खास तहको सन्दर्भमा राखेर हेर्दा मात्र तिनले सही अर्थ दिन्छन् । यो डाइरेक्ट्रीको कुनै पनि हिस्साको आंशिक अध्ययनबाट रोकथामका उपायहरुलाई गलत तहमा राखेर हेरिएमा निस्कन सक्ने गलत निश्कर्षका लागि डाइरेक्ट्री जिम्मेवार हुनेछैन ।

५) अन्यथा उल्लेख नगरिएको खण्डमा यस डाइरेक्ट्रीमा उपलब्ध सबै जानकारी र सामाग्री निम्न लेखकद्वारा लेखिएका, तयार पारिएका वा संलग्न गरिएका हुन्ः
डा जीवन क्षेत्री, एमबीबीएस, एमडी (प्याथोलोजी)

(Unless mentioned otherwise, all the information and articles available in the directory have been written/compiled by the following:
Dr. Jiwan Kshetry, MBBS, MD (Pathology))