अन्यथा असाध्य चिन्ताजनक रहेको इबोलाको अहिलेको महामारीमा एउटै चाँदीको घेरा के भने विगतका इबोला महामारीहरुभन्दा अफ्रिकामै पनि यसको मृत्युदर यसपालि कम छ । विगतका कुनै महामारीहरुमा ९० प्रतिशतसम्म पुग्ने गरेको मृत्यूदर यसपालि अफ्रिकाका लागि पनि पछिल्लो तथ्यांकअनुसार त्यो भन्दा निकै कम छ । महामारी अझै नियन्त्रणबाहिर रहेका गिनी, सिएरालियोन र लाइबेरियाका लागि मृत्युदर करीब ५० प्रतिशत (९१९१ जम्मा बिरामी हुँदा मृत्यूको संख्या ४५४६ ) छ भने महामारी नियन्त्रणमै रहेका तथा नियन्त्रणमा आइसकेका नाइजेरिया, सेनेगल, स्पेन र संयुक्त राज्य अमेरिकाका लागि प्रारम्भिक मृत्युदर ३६ प्रतिशत (२५ बिरामी, ९ मृत्यू) रहेको छ ।
प्रभावकारी भाइरस प्रतिरोधी औषधि नभएका कारण अमेरिकामा एउटा परीक्षण कालको औषधि सीमित बिरामीहरुलाई दिइएबाहेक अहिले यसको उपचार पूर्णतः रोगका लक्षण र जटिलताको उपचार गर्नुमा सीमित छ, जुन आफैंमा ज्यादै चुनौतीपूर्ण काम हो ।
त्यसबाहेक अफ्रिकाको अहिलेको मृत्युदर भाइरसको घातक क्षमताको मात्र नभएर त्यहाँ व्याप्त अव्यवस्था र अराजकताको परिणाम पनि हो । मागभन्दा धेरै कम स्वास्थ्य जनशक्ति हुनु, दक्ष जनशक्तिको उल्लेख्य हिस्सा विदेशी स्वयंसेवक हुनु र उनीहरुमध्ये धेरैले महामारीसँगै कार्यस्थल छाड्नु, महामारीको बीचमै सिएरा लियोनका नेतृत्वदायी चिकित्सक तथा शोधकर्ता शेख उम्मार खानको मृत्यू हुनुले त्यहाँ इबोला रोगीहरुको उपचारमा गम्भीर व्यवधान उत्पन्न गरेका छन् । त्यसबाहेक इबोला रोग नै हैन भन्ने अन्धविश्वास, यो गोराहरुले अफ्रिकालाई तहसनहस पार्न आविष्कार गरेको भाइरस हो भन्ने हल्लाका कारण उत्पन्न अन्योलले पनि खास गरी शुरुको चरणमा रोग नियन्त्रणमा बाधा पुर्याएको थियो । त्यसमाथि इबोला बिरामीले खचाखच क्वारेन्टाइन भवनलाई दंगाकर्ताहरुले तोडेर बिरामी भगाउने, बिरामीमध्ये कति आफैं अटेर गरेर घर जाने र बजार घुम्ने आदि गर्दा पनि त्यहाँ इबोला तीव्र रुपमा समुदायमा फैलिन पाएको हो ।
त्यसबाहेक इबोलाको जोखिमबारे कुरा गर्दा भुल्न नहुने कुरा के छ भने, फरक फरक व्यक्तिहरुमा उही भाइरसले संक्रमित गर्दा किन कसैमा यो गम्भीर भएर हप्ताभरमै मृत्यू हुन्छ र अरुहरुमा चाहिं सामान्य लक्षणहरु मात्र देखिएर ठिक भएर जान्छ, त्यो रहस्य अहिलेसम्म खुल्न सकेको छैन । इबोलाकै बारेमा अध्ययन पनि गर्दै र उपचारको नेतृत्व पनि गर्दै गरेका सिएरालियोनका डा शेख उमार खानले सक्रियतापूर्वक सबै सावधानी अपनाएर उपचारमा संलग्न हुँदा समेत उनी संक्रमित हुनु र साताभरमै उनको मृत्यू हुनुले यो रोगको बारेमा जान्न बाँकी अरु धेरै कुरा छन् भन्ने जनाउँछ ।
अमेरिका र युरोपमा महामारी प्रारम्भिक चरणमै रहेकाले त्यहाँको मृत्युदरको सार्थक तथ्यांक अझ आउने बेला भइसकेको छैन । तर नेपालमा रोग भित्रिइहालेको खण्डमा अफ्रिकाको अनुभव हेरेर मृत्यूदरलाई पचास प्रतिशतको वरिपरि राख्ने अपेक्षा गर्न सकिन्छ । मृत्युदर अझ कम गर्न तथा इबोला आइसकेपछिको अवस्थामा आउन सक्ने अस्तव्यस्तताको अवस्थामा पचास प्रतिशत कायम राख्न पनि नेपालका स्वास्थ्य संस्थाहरुको क्षमता तत्काल वृद्धि गर्नुपर्ने हुन्छ । रोग फैलिनबाट रोक्ने प्रयासहरुसँगै रोगीहरुलाई उत्कृष्ट उपचार दिएर मृत्यूदर कम गर्ने प्रयास पनि सँगसँगै गर्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment