नेपालमा यी पंक्ति तयार पारिंदासम्म इबोला भाइरसले प्रवेश गरेको छैन । तर नेपालको स्वास्थ्य क्षेत्रको भद्रगोल हेर्दा, यदि समयमै इबोलाबाट बच्ने हो भने अहिले नै हामी सबै यो मानेर चल्नुपर्ने हुन्छ कि हामीकहाँ इबोला भित्रिइसकेको छ तर पत्ता नलागेका कारण मात्र चर्चा र समाचारमा आउन सकेको छैन । तथ्यगत रुपमा त्यसो नहुन पनि सक्छ तर रोग देखिइसकेपछि हामीले अपनाउन सक्ने उपाय यति सीमित छन् कि त्यो अवस्थामा तिनको प्रभावकारिता ज्यादै न्यून हुने देखिन्छ ।
अमेरिकाजस्तो ज्यादै व्यवस्थित र स्तरीय स्वास्थ्य सेवा भएको देशमा त अफ्रिकाबाट भित्रिएको इबोला फैलिन नदिने प्रयासहरु असफल भए भने नेपालमा इबोला देखिनासाथ हाम्रो स्वास्थ्य सेवा तत्काल संकटकालमा पुग्ने देखिन्छ । त्यो किन भने हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा त थामिनसक्नु भीड छ नै, निजी स्वास्थ्य संस्थाहरुमा समेत भीड पातलो छैन । इबोला भएको तर पत्ता नलागेको एक व्यक्ति त्यस्तो भीडमा हुनु र बाँकी मानिसहरुले सावधानी नअपनाउने हो भने एकाध घण्टामै भाइरसले दर्जनौं मानिसलाई संक्रमित गर्ने र त्यसको एकाध दिनमा रोग पत्ता लाग्नु अगावै अरु बाह्र दर्जन मानिसहरु संक्रमित हुने र तत्काल महामारी नियन्त्रणबाहिर जाने सम्भावना हुन्छ ।
अर्कोतिर, मानिसलाई अस्पतालमा भीड नगर भन्नु वा भीडबाट इबोला सर्ला भनेर मानिस अस्पताल आउन हिच्किचाउनु भनेको उनीहरुलाई साविकका अन्य रोग पालेर बस भन्नु हो । त्यसो हुनुको अर्थतन्त्रीय र स्वास्थ्यजन्य मूल्य चुकाउनुपर्ने कुरा त छँदैछ ।
त्यस्तै भीड हाम्रो दैनिक जीवनको कस्तो अविभाज्य पाटो हो भने, मानिसहरुलाई भीडभाडमा यात्रा नगर भन्नु भनेको यात्रा नै नगर भन्नु हो किनकि हाम्रा यातायात व्यावसायीको कृपाले भीडभाड नभएका साधन पाउनु असम्भवप्राय छ ।
अब नेपालको स्वास्थ्य क्षेत्रमा यत्रो चुनौती आउँदैछ भन्ने भएपछि त्यसबारे व्यापक तयारी गरेर आवश्यक मार्ग निर्देशन गर्नुपर्ने तथा इबोला नियन्त्रणको नेतृत्व गर्नु पर्ने स्वास्थ्य मन्त्री व्यक्तिगत र पार्टीगत लाभका लागि षड्यन्त्रका तानाबाना बुन्न र भएकै स्वास्थ्य संस्थाहरुलाई अस्तव्यस्त बनाउन मरिमेट्दै छन् । राज्य यसै पनि संविधान निर्माणको किचलोमा यसरी अल्झेको छ कि उसको हैसियत आफ्नै कार्यालय अघि अपराध भएर अपराधी भागिसकेपछि पुग्ने प्रहरीको जस्तो हुन आएको छ ।
यो अवस्थामा यो रोगबाट बच्नका लागि स्वास्थ्यकर्मी समुदाय र आम समुदायले आ—आफ्नो क्षेत्रबाट सक्रिय भुमिका खेल्नु जरुरी छ । यो डाइरेक्ट्रीमा यी दुई पक्षका लागि महत्वपूर्ण हुने जानकारीहरु समावेश गरिएको छ । विभिन्न सीमितताहरुका कारण भाइरसको प्रकृति र रोगको बिस्तृत चर्चा यहाँ गरिएको छैन । त्यसका लागि खास गरी अंग्रेजी पढ्न सक्ने मानिसहरुका लागि असीमित अनलाइन सन्दर्भ सामाग्रीहरु उपलब्ध छन्, जुनमध्ये केहीको वेव ठेगाना यो डाइरेक्ट्रीमा संलग्न गरिएको छ । यसमा चाहिं खाली पुष्टि भएर वा नभएर हामीकहाँ इबोला आइपुगेको खण्डमा त्यसबाट आफू पीडित हुने तथा आफू वरपरका मानिसहरुलाई फैलाउने अवस्था आउनबाट रोक्न के के गर्न सकिन्छ भन्ने बारेमा व्यवहारिक सल्लाह दिइनेछ ।
यस डाइरेक्ट्रीमा सहजता र व्यवहारिकताका आधारमा इबोलाबाट बच्न अपनाउनुपर्ने उपायहरुलाई निम्नानुसार तहीकृत गरिएको छः
- तह १. आफू रहेको भुगोलमा इबोला भएको पुष्टि भएको छैन तर इबोला छैन नै भनेर ढुक्क हुन सक्ने स्थिति पनि छैन ।
- तह २. नेपालमा इबोला भएको पुष्टि भइसक्यो तर त्यसबाहेक परिवार वा समुदायमा इबोला पुष्टि भएका बिरामी छैनन् ।
- तह ३. परिवार वा नजिकको छिमेकमा इबोला पुष्टि भएका बिरामी छन् वा समुदायको कुनै व्यक्ति इबोलाका कारण मरेपछि तिनको अन्तिम क्रियामा आफू संलग्न भइसकिएको छ ।
No comments:
Post a Comment