Initiative of CITIZENS FOR INFECTION CONTROL (CIC), in collaboration with Nepalese Initiative for Prevention of Antimicrobial Resistance (NIPAR)

नेप्लिज इनिसिएटिभ फर प्रिभेन्सन अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्ससँगको सहकार्यमा सिटिजन्स फर इन्फेक्सन कन्ट्रोलको तत्वावधानमा

यो डाइरेक्ट्रीका सबै सामाग्रीहरु Creative Commons Attribution 4.0 International licenseअन्तर्गत प्रकाशन गरिएका छन् । यसमा सामेल सामाग्रीहरुलाई पूर्ण वा आंशिक रुपमा प्रिन्ट वा अनलाइन रुपमा वितरण गर्न चाहेमा स्पष्ट खुल्ने गरी स्रोतका रुपमा डाइरेकट्रीको नाम र वेब ठेगाना उल्लेख गरेर वितरण गर्न सकिनेछ ।

Sunday, October 19, 2014

इबोलाः मानिसको ध्वंशात्मक व्यवहारका लागि प्रकृतिले दिएको दण्ड?


अफ्रिकाबाट शुरु भएर हाल कम्तीमा तीन महादेशसम्म फैलिइसकेको इबोला रोगले संसारभर मानिसहरुलाई त्रस्त बनाएको छ ।

तर यो त्रासबाट माथि उठेर हेर्ने हो भने के देखिन्छ भने जन स्वास्थ्यका लागि यो एउटा मात्र जोखिम हैन । पछिल्ला दशकहरुमा देखा परेका विश्वव्यापी स्वास्थ्य संकटहरुमध्ये एचआइभी एड्सजस्ता रोगहरुसित बाँच्न हामीहरु अभ्यस्त भइसकेका छौं भने सार्स र स्वाइन फ्लू भनिने एचवन एनवन इन्फ्लुएन्जाजस्ता संकटहरु चर्चामा आउँदै हराउँदै गरेका छन् र बर्ड फ्लू भनिने एभियन इन्फ्लुएन्जा चाहिं लोड गरिएको तर ट्रिगर दबाउन बाँकी राइफलजस्तै बनेर हाम्रै वरिपरि घुमिरहेको छ । तीव्र रुपमा बढिरहेका उच्च रक्तचाप र मधुमेहजस्ता मोटोपनजन्य रोगहरु र क्यान्सरजस्ता नसर्ने रोगहरु मात्र नभएर एन्टिबायोटिक—प्रतिरोधी संक्रमणजस्ता सर्ने रोगहरु पनि अब जनस्वास्थ्यका सदाकालीन चुनौतीका रुपमा देखा परेका छन् ।

तर यो तथ्यले के कुरालाई नकार्दैन भने, त्यस्ता धेरै जोखिमहरुमध्ये अहिलेका लागि इबोला प्रमुख जोखिम भएर देखा परेको छ ।



अहिले मंगल ग्रहबाट फरक प्रजातिको जीव पृथ्वीमा आयो भने उसले हाम्रो संकटलाई हामी जसरी हेर्छौं, त्यसरी हेर्दैन । यदि हामीले एउटा रुखमा हेरेर सारा जंगलको बारेमा निश्कर्ष निकाल्न थाल्यौं भने त्यसले केही आंशिक सत्यहरु त उद्घाटन गर्ला तर जंगलको समष्टिगत स्वरुप वा प्रकृतिबारे कुनै पनि सत्य उद्घाटित गर्न सक्दैन ।

हो, इबोलालगायत विश्वव्यापी स्वास्थ्य संकटहरुबारे समग्र सत्य उद्घाटन गर्ने हो भने त्यस्तै मंगल ग्रही भिजनसहित हेर्नुपर्छ । अर्थात्, एकछिनलाई रुखको अध्ययन थाँती राखेर झाडीको अध्ययन गर्नुपर्ने हुन्छ ।

त्यसरी हेर्दा के देखिन्छ भने, दैनिक सयौंको दरमा पृथ्वीका अन्य प्रजातिका वनस्पति तथा प्राणीहरुलाई यहाँबाट लोप पार्दै, घण्टाको सयौं हेक्टरका दरले जंगललाई सखाप पार्दै, हावामा लाखौं टन विषाक्त धुवाँ र रसायनहरु छाड्दै, पानीमा दैनिक लाखौं टन विषाक्त औद्योगिक फोहर मिसाउँदै अनि बेलाबेलामा अप्राकृतिक र पर्यावरणका लागि घातक रेडियोधर्मी विकिरणहरु छाड्दै मानिसले पृथ्वीमा जुन ध्वंश मच्चाउँदैछ, प्रकृतिले यो भाइरस वा त्यो सुनामी, यो खडेरी वा त्यो महामारीका रुपमा दिने सजायँहरु त्यसको तुलनामा केही पनि हैनन् ।

उसै पनि मानिसजस्तो विध्वंशक प्रजातिका छ वा सात अरब सदस्यहरुका लागि यो ग्रह बनेकै हैन । ती सात अरबले अझ पाए भने झण्डै दुई अरब रेफ्रिजेरेटर, तीन अरब अटोमोबाइल, दुई अरब टेलिभिजन सेट, पाँच अरब सेलफोन सेट र दुई अरब निजी कम्प्यूटरहरु राख्थे । प्रविधिले फड्को मार्दै गर्दा एकाध वर्ष वा दशकमा मानिस जातिले यी सबै भौतिक आवश्यकता पुर्ति गर्ने सम्भावना पनि छ । तर त्यसो भए पछि न जमिन बस्न र खेती गर्न लायक रहने छ, न त पानी पिउन लायक र हावा सास फेर्न लायक नै रहनेछ । अहिले नै चीनका कति तटीय शहर लगायतका धेरै औद्योगिक क्षेत्रमा त्यो अवस्था आइसकेको छ भने विकासोन्मुख  तर पहिल्यै जनसंख्या विस्फोट भइसकेका भारत र बंगलादेशजस्ता देशहरु त कुनै ठूलो स्तरको मानवीय विपत्तिका लागि तयार पारिएका भीमकाय प्रयोगशालाका रुपमा रहेका छन् ।

कुरा के भने, इबोलाबारे झिनामसिना कुरामा जानुअघि अहम् महत्वका तर चर्चामा नआउने गरेका यी तथ्यबारे जानकारी पाएपछि त्यसले हामीलाई रोगको सानो वा माइक्रो तहको आंशिक जानकारीबाट अत्तालिनुको सट्टा यो र योजस्ता रोगको वरपरको यथार्थलाई समष्टिमा बुझ्न सघाउ पुर्याउँछ । हामीलाई याद रहे पनि वा नरहे पनि प्रकृतिलाई मानव जातिले जुन स्तरमा चुनौती दिंदै जान्छ, त्यही स्तरमा प्रकृतिले पनि प्रतिक्रिया जनाउँदै जान्छ, खाली कुन रुपमा र कति मानवीय क्षति हुने गरी अनि कति अवधिको फरकमा भन्ने प्रश्न मात्र हो । त्यो किनभने प्रकृतिमा कुनै पनि कुरा असीमित छैन, जब कि मानव जातिको व्यवहार हेर्दा लाग्छ प्रकृतिमा उपलब्ध सबै कुरा असीमित छन् ।

रेबिजजस्ता शत प्रतिशत मृत्यूदर हुने र इबोलाजस्ता उच्च मृत्यूदर भएका संक्रमणहरुले मानिस जातिलाई आफ्नो भौतिक तरक्की र प्रकृतिलाई चुनौती दिएर पनि बाँचिरहने क्षमताको सीमितताको बोध गराउँछन् । चार हजार वर्षअघि इबोलाजस्तो रोग देखियो भने रोग देखिएको क्षेत्रका निश्चित मानिसहरु विना उपचार मरेर जान्थे तर रोग अर्को महादेश त के केही हजार किलोमिटर परसम्म फैलिनु पनि असम्भव थियो । १९७६ यता अफ्रिकामा पटकपटक ससाना स्थानीय वा क्षेत्रीय महामारकिो रुपमा देखिने गरेको इबोलालाई पनि यसपालिको महामारी आउनु अघि त्यस्तै कुनै क्षेत्रमा देखिने तर त्यहीं हराएर पनि जाने महामारीको रुपमा लिइन्थ्यो । अहिले इबोलाको भ्याक्सिन तयार नहुनु र त्यसको औषधि अझै परीक्षणको अवधिमा रहनुपछाडि यो तथ्यको पनि हात छ ।

त्यसरी मानव जातिको इतिहासमा सयौं र हजारौं घातक रोग र संक्रमणहरु आए र गए । तर अब त्यो सम्भव छैन ।

एकतिर, विश्वको एक कुनामा देखा परेको संक्रमण दिन वा हप्ताभरमै अर्को कुनामा पुग्छ । हुन पनि हाम्रो समग्र भौतिक समृद्धि र आधुनिक जीवन पद्धति यस खालको तीव्र यात्रामै अडेको छ । त्यसो नभए ब्राजिलका कुखुरा ल्याएर अमेरिकाको कम्पनीले काठमाडौंमा पकाएपछि त्यो खाएर मात्र पूर्ण मानव बन्ने कल्पना बोकेर हिंड्ने मानिसहरु कहाँ अस्तित्वमा हुन्थे?

अर्कोतिर, जसरी दश हजार वर्ष अघिको मानव जाति र अहिलेको मानव जाति उस्तै छैन, दश वर्ष वा सय वर्ष अघिका भाइरस र ब्याक्टेरियाहरु र अहिलेका तिनका उही प्रजातिका सन्ततिहरु प्नि उस्तै छैनन् । जुन सुकै मूल्यमा तिनलाई जितेर मानिसले बाँच्न प्रयास गरेसँगै तिनले पनि प्रतिकुलतालाई झेल्ने आ–आफ्ना तरिकाहरु विकास गरेका छन् जसमध्ये एन्टिब्याक्टेरियल वा एन्टिभाइरल औषधिहरुबाट बच्न तथा सजिलै एउटा ठूलो प्राणीबाट अर्को ठूलो प्राणीमा सर्ने विधि आविष्कार गर्ने तरिकाहरु प्रमुख हुन् । इबोलाको सन्दर्भमा यो भाइरसले विगतमा भन्दा धेरै छिटो र सजिलोसँग सर्ने क्षमता विकास गरेको त देखिन्छ नै, त्यस खालको विकासक्रम अझ तीव्र भएर हामीले अध्ययन गर्न नपाउँदै त्यसले त्यसरी तर्ने नयाँ तरिका र माध्यमहरु विकास सम्भावना पनि उत्तिकै छ ।

हो, इबोलालगायतका सबैजसो आधुनिक स्वास्थ्य समस्याहरु प्रत्यक्ष वा परोक्ष रुपमा हाम्रा यस्तै प्रवृत्ति र व्यवहारका परिणाम हुन् । तिनको उत्पत्ति जतिसुकै प्राकृतिक र मानव गतिविधिसँग असम्बद्ध भए पनि तिनको फैलावट जहिले पनि मानिसको आधुनिक जीवन पद्धतिसँग जोडिएको हुन्छ । यो तथ्य यी सबैको बीच बसेर बानी परेका हामीले जति देख्छौं, त्योभन्दा धेरै राम्रोसँग बाहिरी ग्रहबाट आएको जीवले देख्न सक्थ्यो ।

तर दुर्भाग्य, हामी सबै पृथ्वीवासी मानव समुदायका सदस्य हौं । इमान्दारीपूर्वक भन्नुपर्दा, पृथ्वी एकाध वर्षमा मानिस बस्न अयोग्य होस्, यसका भुमिगत प्राकृतिक सम्पदाहरु शुन्यमा झरुन्, समुद्र माछाविहीन र विषाक्त पानीको भण्डारमा बदलियोस्, नदीहरुका सतहमा हजारौं मरेका सुँगुरहरु तैरिरहुन्, ताजा पानीका मुहान्हरु सुकुन्, संसारका सबै शहरहरुको वायु सांघाइ वा मेक्सिको सिटीको जस्तै प्रदुषित होस्, हिमालयको र ध्रुवीय हिउँ पग्लेर माल्दिभ्सजस्ता देशको अस्तित्व हराओस् र बंगलादेशजस्ता देश आधा पानीमुनि पुगुन्, तैपनि हामी हाम्रा जीवन शैली बदल्न तयार छैनौं । भएका सुविधा त्याग्नु त कता कता, टार स्याण्ड्सजस्ता तेल निकाल्ने अतिशय प्रदुषणजन्य उपाय खोजेर भए पनि क्षणिक सम्पन्नताका लागि मानव—मैत्री ग्रहका रुपमा पृथ्वीको आयु छोट्याउन हामी नै उद्यत् छौं । अर्थात् भनौं, मानव समुदायका ती नेतृत्वदायी व्यक्तिहरु उद्यत् छन्, जसको एउटा निर्णयले (जस्तो कि अमेरिकामा किस्टोन पाइपलाइन निर्माणका लागि अनुमति दिने कि नदिने भन्ने निर्णय) छ अरब मानिसको भविष्यमा प्रत्यक्ष असर पार्छ ।

हो, हामीपछि आउने दोस्रो वा चौथो वा छैटौं पुस्ताले पृथ्वीलाई प्रदुषित र बाँझो मरुभुमिका रुपमा किन नपाओस्, हामीलाई अहिल्यै कारहरु चढ्नु छ, विशाल कंक्रिटका घरहरुमा बस्नु छ, मानिसले आवश्यकता महसुस नै नगरेका वस्तुहरु निर्माण गरेर विज्ञापन र प्रोपागाण्डा गरेकै भरमा बेचेर धनी हुनु छ, प्रविधिकै बलमा बालुवाको पहाडलाई डोजरले ओधारेर तीव्र भुक्षय गर्दै गाडीहरु गुडाउनु छ । अर्को शब्दमा, आम सरोकार र दीर्घकालीन भविष्यका विषयमा न हामी चिन्तित छौं, न हाम्रो नेतृत्व, न सरकार र राज्य । सीमित वैज्ञानिकहरु जो चिन्तित छन्, तिनको आवाज धनी उद्योगीहरुको रट लगाइरहने मूलधारको मिडियाको चर्को हल्लामा कता हराएका छन् कता ।

त्यति हुँदाहुँदै, अर्को व्यवहारिक सत्य के हो भने, मानव जातिका कुकर्म र अतिकर्मका लागि मानव जाति नै दण्डित हुनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा सहमत हुन सकिए पनि इबोला वा सुनामीमा मर्ने पहिलो व्यक्ति वा पहिलो नेपाली बन्न हामी तयार छैनौं । त्यो स्वभाविक पनि हो, जस्तो सुकै अपराधी पनि अपराधबोध र कुण्ठा पालेर पनि बाँच्नचाहिं चाहेजस्तै प्राणी जगत्को एउटा प्रजातिका रुपमा जति अपराध गरे पनि मानव जाति ठूलो संकटमा परोस् र लाखौं वा करोडौं मानिसहरु मरुन् भनेर हामीले सोच्न सक्दैनौं ।

त्यसैले इबोलाबाट बच्नेबारे यो डाइरेक्ट्रीमा जति चर्चा हुन्छ, त्यो इबोलाजस्ता मानवजन्य कारणबाट फैलिइरहेका रोगहरुको समग्र निराकरणतिर हैन कि फैलिइसकेको रोगबाट हामी र हाम्रो वरपरका मानिसहरुलाई कसरी बचाउने भन्ने मात्र हो । यही निहुँमा प्रजातिका रुपमा मानवले पृथ्वीमा मच्चाइरहेको ताण्डवबारे पनि मानिसहरुको ध्यान गयो भने त्यो सुनमा सुगन्ध हुनेछ ।

2 comments:

  1. I have a different opinion on the title.
    Nature does not punish, these are all natural disasters and epidemics. Such epidemics occur even in cows, pigs and birds, who have not challenged the nature.
    Ages ago when science was not well developed, Disease still killed thousands in form of epidemics, at least now we know how to isolate and prevent transmission if not cure.
    But one fact is human induced, Travelling has made epidemics --> Pandemic

    ReplyDelete
    Replies
    1. Thanks for the comment.

      As you have pointed, the title is debatable but I think the question mark at the end of the title makes it justifiable. My attempt has been to link the current outbreak and pandemic-in-making with the larger problems faced by humanity. Obviously, Ebola is not my only concern; here I take the opportunity to talk about other issues that are ignored all the time yet are potentially more important than the former.

      Delete

Mandatory Notice to be read before using this directory


१) यो डाइरेक्ट्री जन हितका लागि जारी गरिएको हो तर यसमा उपलब्ध जानकारी सम्बन्धित निकायहरुले पनि नीति निर्माण, योजना र जन चेतना फैलावटका लागि प्रयोग गर्न सक्नेछन् ।

२) यो डाइरेक्ट्रीमा उपलब्ध जानकारीहरु विशेषज्ञ चिकित्सकद्वारा यस क्षेत्रमा उपलब्ध पछिल्लो वैज्ञानिक सुचना र जानकारीमा आधारित भएर तयार पारिएका हुन् । त्यति हुँदाहुँदै पनि यो क्षेत्रमा नयाँ शोध र अध्ययनहरु तीव्र भइरहँदा यसमा भएका केही जानकारीहरु तथा तथ्यांकहरु तथ्यगत रुपमा पुरानो हुने वा गलत हुन जाने सम्भावना भएकाले खास गरी पछिल्लो सुचना र तथ्यांकका लागि अन्य वैज्ञानिक प्रकाशन तथा आम सञ्चार माध्यमका सामयिक सामाग्रीहरु पढ्न सिफारिश गरिन्छ ।

३) यो डाइरेक्ट्रीका सबै सामाग्रीहरु क्रिएटिभ कमन्स लाइसेन्स ( Creative Commons Attribution 4.0 International license)अन्तर्गत प्रकाशन गरिएका छन् । यसमा सामेल सामाग्रीहरुलाई पूर्ण वा आंशिक रुपमा प्रिन्ट वा अनलाइन रुपमा वितरण गर्न चाहेमा स्पष्ट खुल्ने गरी स्रोतका रुपमा डाइरेकट्रीको नाम र वेब ठेगाना उल्लेख गरेर वितरण गर्न सकिनेछ ।

४) इबोलाको जोखिमलाई तहीकरण गरेर त्यसबाट बच्ने उपायहरु उल्लेख गरिएकाले तिनलाई खास तहको सन्दर्भमा राखेर हेर्दा मात्र तिनले सही अर्थ दिन्छन् । यो डाइरेक्ट्रीको कुनै पनि हिस्साको आंशिक अध्ययनबाट रोकथामका उपायहरुलाई गलत तहमा राखेर हेरिएमा निस्कन सक्ने गलत निश्कर्षका लागि डाइरेक्ट्री जिम्मेवार हुनेछैन ।

५) अन्यथा उल्लेख नगरिएको खण्डमा यस डाइरेक्ट्रीमा उपलब्ध सबै जानकारी र सामाग्री निम्न लेखकद्वारा लेखिएका, तयार पारिएका वा संलग्न गरिएका हुन्ः
डा जीवन क्षेत्री, एमबीबीएस, एमडी (प्याथोलोजी)

(Unless mentioned otherwise, all the information and articles available in the directory have been written/compiled by the following:
Dr. Jiwan Kshetry, MBBS, MD (Pathology))